काठमाडौँ । छठ पर्वको दोस्रो दिन आज ब्रतालुहरूले ‘खरना’ विधिको सम्पूर्ण तयारी पूरा गरेका छन् ।
चार दिवसीय यस महासमारोह अन्तर्गत हिजो पहिलो दिन ‘नहाय–खाय’ विधि सम्पन्न गरेसँगै आज दोस्रो दिन दिनभर उपवास बसी सूर्यास्तपछि खरना विधि मनाइँदैछ ।
खरनाको दिन ब्रतालुहरूले दिनभर निराहार व्रत बसेर बेलुका चन्द्रदर्शन गरेपछि माटोको नयाँ चुल्हो र भाँडामा दूध, चामल र सख्खरको खीर तयार पार्दछन् । त्यसपछि सो खीर केराको पातमा राखी छठी मातालाई अर्पण गरेर ब्रतालु तथा परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ ।
पर्वको तेस्रो दिन अर्थात्ोलि (आइतबार) ब्रतालुहरूले कठोर निर्जल उपवास बसी नजिकैका नदी, पोखरी तथा जलाशय किनारमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ (सझिया घाटे) अर्पण गर्नेछन् । त्यसैगरी, सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ (भिनहीया घाटे) दिएर चार दिन लामो यो निष्ठा र श्रद्धाको पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

