काठमाडौँ । विश्वभर प्रत्येक वर्ष सेप्टेम्बर २९ का दिन खाद्य हानि तथा फोहोरसम्बन्धी सचेतनाका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । खाद्य सुरक्षामा सुधार ल्याउनुका साथै वातावरणको संरक्षण गर्नका लागि खाद्य वस्तुको हानि र फोहोर नियन्त्रण गर्नु अत्यावश्यक रहेको सन्देश फैलाउनु यस दिवसको प्रमुख ध्येय हो ।
संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १२.३ ले सन् २०३० सम्ममा खुद्रा तथा उपभोक्ता तहमा हुने खाद्य फोहोरलाई आधा घटाउने र उत्पादनदेखि आपूर्ति शृङ्खलासम्म हुने क्षति न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको संयुक्त पहलमा आयोजित यस वर्षको दिवसको नारा ‘खाद्य क्षति र फोहोर घटाउने रूपान्तरणकारी सम्भावना’ तय गरिएको छ ।
खाद्य फोहोरको गम्भीर चुनौती, यसको दीर्घकालीन समाधान र विश्वव्यापी सामूहिक प्रयासको महत्त्वबारे जनचेतना जगाउन यो दिवसले विशेष भूमिका खेल्दै आएको छ ।

