काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको चरौँदी कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएपछि गाडीको आवागमन बाक्लिएको छ ।
गत भदौ १० गते आएको भीषण बाढी र पहिरोले सडक पुरै बगाएपछि झन्डै तीन सातासम्म यो राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो । भोटेकोशी र त्रिशूली नदीको कटानका कारण मुख्य सडकसञ्जाल नै विच्छेद भएपछि काठमाडौँ आउजाउ गर्ने यात्रु तथा सवारीसाधनले लामो समय कठिन र वैकल्पिक बाटो प्रयोग गर्नुपरेको थियो ।
असोज १ गतेदेखि वैकल्पिक सडक तयार गरी दुवैतर्फ गाडी सञ्चालन गर्न थालिएपछि अहिले निजी, सार्वजनिक तथा मालवाहक सवारीको चाप निकै बढेको छ ।
यद्यपि, नयाँ ट्र्याकमा अझै पनि जोखिम कायमै रहेकाले चालकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
तत्कालका लागि गाडी चलाउन बाटो खोलिए पनि सडकलाई सुरक्षित बनाउन क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन गरी दीर्घकालीन पुनर्निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

