पर्वत । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरस्थित घरमाथिबाट खसेको सुख्खा पहिरोमा च्यापिएका एक ज्येष्ठ नागरिकलाई उद्धार टोलीले सकुशल बाहिर निकालेको छ ।
मंगलबार बिहान अचानक ढुङ्गामाटोसहित आएको पहिरोले घर पुरिँदा स्थानीय ६५ वर्षीय आत्माराम आचार्यभित्रै थुनिएका थिए ।
घटनालगत्तै खटिएको उद्धार टोलीले समयमै पुगेर उनलाई जीवितै उद्धार गर्न सफल भएको हो ।
पहिरोमा च्यापिँदा आचार्यको टाउको र दाहिने आँखामाथि चोट लागेको छ। उहाँ सामान्य बोल्न सक्ने मध्यम अवस्थामा हुनुहुन्छ ।
प्राथमिक उपचारपछि थप उपचारका लागि उहाँलाई छिमेकी जिल्ला म्याग्दीस्थित प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ ।

