काठमाडौँ । चलचित्र विकास बोर्डले असोज ११ गते आइतबारसम्मको नेपाली चलचित्रहरूको पछिल्लो बक्स अफिस कमाइ विवरण सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौथली’ले हालसम्म बक्स अफिसमा २५ करोड ९५ लाख ८४ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधिमा फिल्मका ९ लाख ४१ हजार ३७२ वटा टिकट बिक्री भएका छन् ।
भदौ २६ गतेदेखि हलमा लागेको ‘पेन्सन पट्टा’ले ७ करोड १ लाख ४१ हजार रुपैयाँ कमाउँदै २ लाख ४४ हजार ८४२ टिकट बेचेको छ । सोही दिनदेखि प्रदर्शन सुरु भएको अर्को चलचित्र ‘बेहुली’ले २ करोड ९६ लाख ३६ हजार रुपैयाँ कारोबार गर्दै १ लाख ५ हजार ३३८ टिकट बिक्री गर्न सफल भएको छ ।
यसैगरी, असोज २ गतेदेखि प्रदर्शनमा आएको ‘झिंगेदाउ-२’ ले ४३ हजार ७८६ टिकट बिक्री गर्दै १ करोड ३४ लाख ८४ हजार रुपैयाँ कमाएको छ । भदौ १२ गतेदेखि प्रदर्शनरत ‘पार्वती’ले बक्स अफिसमा हालसम्म २ करोड २८ लाख ५५ हजार रुपैयाँ ग्रस कलेक्सन गर्दै ८१ हजार ३९७ टिकट बिक्री गरेको विवरणमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय वृत्तमा चर्चामा रहेको तथा आगामी ओस्कर अवार्डका लागि नेपालको तर्फबाट सिफारिस भएको चलचित्र ‘तिनीहरु इलेफेन्ट इन द फग’ले ३५ हजार ३३७ टिकट बिक्री गर्दै १ करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ ।

