काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि आपत्कालीन सहायता स्वीकार गर्नेदेखि विभिन्न राहत, सहुलियत र सार्वजनिक बिदासम्बन्धी मुख्य सात निर्णयहरू सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराउनुभएको हो ।
मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णयहरू निम्नअनुसार छन्:
१. एडीबीको अनुदान सहायता स्वीकार: भोटेकोशी बाढी प्रभावित नागरिकको जीवनरक्षा, तत्कालीन आपत्कालीन उद्धार तथा राहत कार्यका लागि एसियाली विकास बैंक (ADB) बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
२. व्यवसाय पुनर्स्थापना र कर सहुलियत: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल लगायत अन्य सहुलियत उपलब्ध गराइनेछ ।
३. १ प्रतिशत भन्सारमा चिनी आयात: बजारमा आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कूल २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति प्रदान गरिएको छ ।
४. उद्धारकर्तालाई भत्ता र १० लाख राहत: खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।
५. जेनजी शहीद दिवसमा सार्वजनिक बिदा: विसं २०८३ साल भदौ २३ गते ‘जेनजी शहीद दिवस’को अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
६. राष्ट्रिय शोक र झण्डा आधा झुकाउने: भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औं दिनको पुण्यतिथि अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र देश तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।
७. सचिव बढुवा र पदस्थापन: नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

