काठमाडौँ । नेपाल र रसियाबीच शिक्षा तथा खेलकुदका क्षेत्रमा सहकार्य विस्तार गर्नेबारे उच्चस्तरीय छलफल भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाली राजदूत एलेक्सी भ्लादिमेरोभिकबिच सोमबार भएको शिष्टाचार भेटमा दुई देशको द्विपक्षीय हित र जनशक्ति विकासका विषयमा कुराकानी भएको हो ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियाले गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा शिक्षा र खेलकुदका पूर्वाधार तथा क्षमता अभिवृद्धिमा साझेदारीलाई अझ फराकिलो बनाउनुपर्ने धारणा राख्नुभयो ।
जवाफमा राजदूत भ्लादिमेरोभिकले नेपालको शैक्षिक र खेलकुद क्षेत्रमा लगानी गर्न रसिया सरकार उत्सुक रहेको बताउनुभयो । दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ मजबुत बनाउन सहकार्यका नयाँ क्षेत्रहरू पहिल्याउँदै अघि बढ्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

