अर्घाखाँची । लगातारको भारी वर्षाका कारण सडकमा पहिरो खस्ने र बाटो भासिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले रातको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
जोखिमलाई ध्यानमा राख्दै असोज ११ गते साँझ ६ बजेदेखि असोज १२ गते बिहान ६ बजेसम्मका लागि १२ घण्टा सम्पूर्ण सवारी आवागमन बन्द गरिएको हो । यस अवधिमा विपद् उद्धार तथा अत्यावश्यक सेवाबाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने छैन ।
विशेष गरी गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डका विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले बाटो खुलाउने काम भइरहेको छ । निरन्तरको वर्षाले जमिन अति नै कमजोर बनेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने, रुख ढल्न सक्ने र सडक नै भासिन सक्ने अवस्था रहेको छ ।
प्रशासनले संकटकालीन अवस्थामा यात्रा गर्नुपरेमा प्रहरीको पूर्वस्वीकृति लिन आग्रह गरेको छ । साथै, जिल्लाका अधिकांश ग्रामीण सडकहरूसमेत पहिरोले अवरुद्ध भएकाले धेरै जरूरी काम नपरी यात्रा नगर्न स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ ।

