कास्की । फ्लाइ दुबईले नियमित अन्तरराष्ट्रिय उडान सुरु गरेसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप उत्साहजनक रूपमा बढेको छ । पछिल्लो दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई रुटबाट १३ हजार ४७४ यात्रुले हवाई सेवा लिएका छन् ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म फ्लाइ दुबईले दुईतर्फी १२२ उडान भरेको थियो । सो अवधिमा दुबईबाट आठ हजार ११५ यात्रु पोखरा भित्रिएका छन् भने पोखराबाट पाँच हजार ३५९ यात्रु दुबई प्रस्थान गरेका छन् ।
फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्सको सहकार्यले यस रुटको व्यावसायिक सम्भावना थप फराकिलो बनाएको छ । एउटै टिकटमार्फत विश्वका ३०० भन्दा बढी गन्तव्यमा सहजै यात्रा गर्न सकिने सुविधाले यात्रुको आकर्षण बढाएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
उडान संख्या र यात्रुको आवागमन अझै विस्तार गर्न भारतीय नागरिकका लागि पोखरामै अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउनुपर्ने श्रेष्ठको भनाइ छ । हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक तेस्रो मुलुक यात्रा गर्दा काठमाडौँस्थित भारतीय दूतावासबाट अनिवार्य रूपमा एनओसी लिनुपर्ने प्रावधान छ । पोखराबाटै यो सेवा सुरु गर्न भारतीय दूतावाससँग आवश्यक पहल भइरहेको उनले जानकारी दिए ।
विसं २०७९ पुस १७ गते उद्घाटन भएको यस विमानस्थलबाट लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन । फ्लाइ दुबईले व्यावसायिक उडान थालेपछि मात्र यहाँ नियमित अन्तरराष्ट्रिय हवाइ सेवा सम्भव भएको हो ।

