काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमितलाई उपचार सेवा लिन डिजिटल कार्ड तथा स्पष्ट देखिने फोटोकपी प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ ।
बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक परिचयपत्र नहुँदा पनि बीमितलाई सेवाबाट नरोक्न निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले स्वास्थ्य बीमाको भौतिक कार्डसँगै डिजिटल प्रति वा कार्डमा रहेका विवरण प्रस्ट देखिने फोटोकपी देखाएर उपचार लिन सक्नेछन् । यसका लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाले सेवाग्राहीको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँचेर उनी बीमामा आबद्ध भए–नभएको पुष्टि गर्नुपर्नेछ । बीमामा आबद्ध भएको निश्चित भएपछि प्रचलित नियमअनुसार उपचार सेवा दिनुपर्ने बोर्डको निर्देशन छ ।
पहिले उपचार सेवा लिन जाँदा अनिवार्य रूपमा भौतिक परिचयपत्र देखाउनुपर्ने नियम रहेको थियो । यो निर्णय लागू भएपछि परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले साथमा नभएका बीमितलाई उपचार प्रक्रिया सहज हुने विश्वास लिइएको छ ।
स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवनकुमार शाहले यस कदमले अस्पतालमा सेवा लिने बीमितलाई थप सुविधा पुग्ने जानकारी दिनुभयो ।

