काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच निर्णायक प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर भिडन्त साँझ ५ बजे सुरु हुनेछ ।
अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम लुम्बिनी लायन्ससँग हार व्यहोरेपछि फाइनल पुग्ने दोस्रो अवसरको खोजीमा छ । उता, इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजको चुनौती पन्छाउँदै चितवन राइनोजले सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।
आजको विजेता टोलीले उपाधिका लागि लुम्बिनी लायन्ससँग खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । लिग चरणको भेटमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो ।

