काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा बादल तथा हुस्सु देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूका धेरै ठाउँमा भने बिहानैदेखि तुवाँलो र हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकीको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने अन्य स्थानको मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल कायम रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ । भोलि बिहानपख तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

