काठमाडौँ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा हिजो (बुधबार) देखि सुरु भएको नेकपा एमालेको राष्ट्रिय भेला बिहीबार समापन हुँदैछ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार दोस्रो दिनको कार्यक्रम बिहान ८ बजेबाट सुरु हुनेछ । आजको सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका २ कार्यभार र गर्नुपर्ने १५ काम’ शीर्षकमा सम्बोधन गर्नेछन् । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका सङ्कल्प गरौं’ विषयमा आ-आफ्नो धारणा राख्ने कार्यतालिका छ ।
भेलामा समसामयिक प्रस्तावहरू पारित गरेपछि दिवा भोजनसँगै औपचारिक समापन गरिने आचार्यले बताएका छन् । राष्ट्रिय भेला सकिएलगत्तै सोही स्थानमा दिउँसो ३ बजे पार्टी केन्द्रीय कमिटीको चौथो बैठक समेत बस्ने तय भएको छ ।
यसअघि बुधबार अध्यक्ष ओलीले भेलाको उद्घाटन गरेका थिए । उद्घाटनपछिको बन्दसत्रमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।
देशभरबाट करिब ३ हजार ५ सय प्रतिनिधि सहभागी रहेको यस भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको छ ।

