चितवन । घोप्टेभीरमा खसेको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडकखण्ड आज शनिबारदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन पाँच घण्टा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचनामार्फत बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोकिने जानकारी दिएका हुन् । उक्त क्षेत्रमा निरन्तर पहिरो झरिरहेकाले सफा गर्ने काममा कठिनाइ भएको र जोखिमपूर्ण ढुंगा तथा माटो हटाउन दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
बन्द रहने समयमा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाइने र पहिरो पूर्ण रूपमा पन्छाएपछि मात्र यातायात सुचारु गरिने शर्माले बताएका छन् । गत बिहीबारदेखि घोप्टेभीरमा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखी यो कदम चालिएको स्थानीय प्रशासनको भनाइ छ ।

