काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री वालेन्द्र शाह भोलि आइतबार दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।
गत चैत १३ गते सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
नेपाल वायुसेवा निगमको विमानमार्फत उनी मंसिर ६ गते दिउँसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ उड्ने कार्यक्रम तय भएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले औपचारिक स्वागत गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार दिल्ली पुगेलगत्तै प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पहिलो शिष्टाचार भेटवार्ता गर्नेछन् । भ्रमणको मुख्य आकर्षणका रूपमा रहेको नेपाल र भारतका प्रधानमन्त्रीबीचको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भने मंसिर ७ गते हुनेछ ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भारतीय समकक्षी मोदीसँगको वार्तामा विशेष गरी व्यापार, पारवहन, लगानी, ऊर्जा, अन्तरदेशीय सम्पर्क सञ्जाल (कनेक्टिभिटी) तथा पूर्वाधार विकासमा आर्थिक साझेदारी बढाउने विषयमा गहन छलफल हुनेछ । साथै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदान गरिने कार्यक्रम छ ।
नेपालको प्रमुख विकास साझेदार रहेको भारतसँगको विकास सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा दुवै देशका शीर्ष नेतृत्वबीच विचार विमर्श हुने मन्त्रालयले जनाएको छ । उच्चस्तरीय भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास परराष्ट्र सचिव राईले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहको नेतृत्वमा काठमाडौँबाट जाने सरकारी भ्रमण दलमा ३४ जना सदस्य रहनेछन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् । नयाँ दिल्ली पुगेपछि त्यहाँस्थित नेपाली राजदूतावासका राजदूतसहित केही कूटनीतिक अधिकारीहरू पनि औपचारिक भ्रमण टोलीमा सामेल हुनेछन् ।

