काठमाडौँ । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली आवासीय राजदूतहरूले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले राजदूत पदको शपथ लिएका हुन् ।
यसअघि नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई सम्बन्धित मुलुकको आवासीय राजदूतमा नियुक्त गरेका थिए ।
राष्ट्रपति कार्यालयका अनुसार उक्त शपथग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

