जनकपुरधाम । नागरिकका प्रत्यक्ष गुनासा सुन्ने तथा राष्ट्रिय एकता सुदृढीकरण गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पैदल यात्राको थालनी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा सोमबार जानकी मन्दिर प्राङ्गणबाट उक्त यात्राको औपचारिक शुभारम्भ गरिएको हो । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहको यात्रा शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू रविन्द्र पटेल, मनीष झा, पुरुषोत्तम यादव र विनोद यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
सांसद सिंहले देशमा शान्ति स्थापना गर्दै नेपालीबीच आपसी सद्भाव र भाइचारा कायम राख्न अभियान थालिएको जानकारी दिए । दुई महिनासम्म चल्ने यस यात्रामा सुशासन, सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी जस्ता जनजीविकाका सवालहरूलाई मुख्य एजेन्डा बनाइएको छ ।
यात्राका दौरान विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय बासिन्दाका आवश्यकता र समस्या बुझ्दै समाधानका लागि पहल गरिने सिंहको योजना छ । यस अभियानलाई उनले जनतासँग प्रत्यक्ष जोडिएर मुलुकको वास्तविक अवस्था बुझ्ने र परिवर्तनका लागि साझा संकल्प निर्माण गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन् ।
साथै, उनले यो यात्रा सफल पार्न आम नेपालीको साथ र समर्थनका लागि अपिलसमेत गरेका छन् ।

