भक्तपुर । स्थानीय प्रशासनले आश्रयस्थलभित्र भोजन प्रवेशमा रोक लगाएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन् ।
सरकारले उक्त स्थान खाली गर्न निर्देशन दिएसँगै गाँस र बासको अनिश्चिततामा परेका आश्रितहरूका लागि जेनजी अभियन्ता माजिद अन्सारीको नेतृत्वमा रहेको टोलीले शनिबार बिहान भोजन लिएर पुगेको थियो । तर, प्रशासनले होल्डिङ सेन्टर परिसरभित्र खाना लैजान अनुमति नदिएपछि उनीहरूले सडकमै बसेर भोजन गरेका हुन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको थियो । यद्यपि, आश्रित सुकुम्बासीहरूले भने आफ्नो उचित वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म उक्त स्थान नछाड्ने अडान कायम राखेका छन् ।

