काठमाडौँ । तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणसम्बन्धी कार्य सञ्चालन गर्न नारायणगढ–मुग्लिन सडकखण्ड आगामी मंसिर १३ गते आइतबारदेखि हरेक दिन पाँच घण्टा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो व्यवस्था लागू हुने जनाएको छ । प्रशासनको निर्णयअनुसार उक्त खण्डमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै खालका सवारीसाधनको आवतजावत ठप्प पारिनेछ ।
पहिरो रोकथामको काम भइरहेका बेला हुन सक्ने सम्भावित सुरक्षालाई ध्यानमा राखेर सवारी आवागमन बन्द गर्ने कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ ।
यद्यपि, काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने तथा त्यही बाटो भएर फर्कने सवारीसाधनका लागि भने आवागमन सुचारु नै रहने प्रशासनको सूचनामा जनाइएको छ ।
बन्द अवधिमा यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालकहरूलाई समय तालिका मिलाएर आवतजावत गर्न चितवन प्रशासनले आग्रह गरेको छ । साथै, आवश्यक जानकारी र समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सडक डिभिजन भरतपुरसँग सम्पर्क गर्न सम्बन्धित निकायहरूले अनुरोध गरेका छन् ।

