काठमाडौं । आज आइतबार देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव र पूर्वी भूभागमा भारतको ओडिसा नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित हिमाली भेगमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।
दिउँसोको समयमा मधेश प्रदेश, कोशी प्रदेश तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले स्पष्ट पारेको छ । कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान छ ।
आज राति देशका हिमाली भेग, कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अरू स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । साथै तराई क्षेत्र, उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्नेछ ।

