काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपाली फुटबलमाथि लगाएको निलम्बन हटाउन र अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन गराउन सकारात्मक पहल सुरु भएको छ ।
थाइल्यान्ड भ्रमणका क्रममा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष नेतृत्वसँगको भेटवार्तापछि स्वदेश फर्किएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।
थाइल्यान्डमा आयोजित एएफसी अवार्ड समारोहमा सहभागी हुन गएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग महत्त्वपूर्ण छलफल गरेका थिए । सोही भेटका क्रममा उनले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।
भेटवार्तापछि फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् । आगामी डिसेम्बर महिनामा फिफाले निर्वाचनको प्रक्रिया र ढाँचा समेटिएको स्पष्ट कार्ययोजना पठाउने मन्त्री पोखरेलले बताए । निलम्बन फुकुवाको प्रक्रिया फिफा स्वयंले अघि बढाउने भए पनि निर्वाचन वर्तमान नेतृत्वबाटै गराउने वा अन्तरिम समिति गठन गर्ने भन्ने विषयमा भने अन्तिम सहमति जुट्न बाँकी छ ।
यसअघि फिफाले नेपाली फुटबलमा सरकारी भूमिकालाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा हेरेको थियो । तर, नेपालको विद्यमान कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा नेतृत्व सकारात्मक बनेको मन्त्री पोखरेलको भनाइ छ । सरकारले आफ्नो कानुनी दायराभित्र मात्र रहेर काम गर्ने र फुटबलको आन्तरिक गतिविधिमा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको उनले स्पष्ट पारे ।

