रूपन्देही । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्न लामो समयदेखि बाधक बन्दै आएको हवाई मार्गसम्बन्धी समस्या समाधानतर्फ अघि बढेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेसँगै भैरहवा विमानस्थलको पूर्ण सञ्चालन र उडान विस्तारको ढोका खुल्ने देखिएको हो ।
दुई देशबीच भएको समझदारीअनुरूप काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया थालिएको छ । विगतमा यो मार्ग एकतर्फी मात्र हुँदा भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय जहाजको उडान तथा अवतरणमा प्राविधिक र व्यावहारिक झन्झट आउने गरेको थियो । अब यो व्यवस्था लागू भएपछि वायुसेवा कम्पनीहरूलाई उडान भर्न सहज हुने र नयाँ गन्तव्य विस्तारका लागि थप विकल्प मिल्ने अपेक्षा गरिएको छ ।
सहमति जुटे पनि यसको व्यावहारिक कार्यान्वयनका लागि अझै केही चरण पार गर्न बाँकी रहेको सरोकारवालाहरूले स्पष्ट पारेका छन् । प्राविधिक तयारी, उडान कार्यविधि र आवश्यक व्यवस्थापकीय पक्षमा दुई पक्षबीच थप छलफल हुनुपर्ने भएकाले सहमति हुनासाथ तत्कालै नियमित उडान सुरु भइहाल्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।
हवाई मार्ग विस्तारको सहमतिले भैरहवा क्षेत्रको पर्यटन तथा समग्र आर्थिक गतिविधिमा नयाँ उत्साह थप्ने निजी क्षेत्रको बुझाइ छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले यो सहमति भैरहवा र लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । अन्तरराष्ट्रिय उडान बढ्दा पर्यटन, उद्योग, व्यापार र होटल व्यवसायमा प्रत्यक्ष लाभ पुग्ने तथा विमानस्थल पूर्ण क्षमतामा चल्दा क्षेत्रीय अर्थतन्त्र चलायमान हुने उनको विश्वास छ ।
त्यसैगरी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई सम्पर्क विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको यात्रा निकै सहज बनाउने उल्लेख गरे । भारतका विभिन्न सहरबाट पर्यटकलाई सिधै भैरहवा हुँदै लुम्बिनी भित्र्याउन सकिने सम्भावना औँल्याउँदै उनले विमानस्थलको दिगो सञ्चालनका लागि उडान सेवासँगै आकर्षक पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनमा पनि समानान्तर रूपमा काम गर्नुपर्ने सुझाव दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले यो विकासक्रमलाई लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनसँग जोडेर हेर्नुपर्ने धारणा राखे । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता प्रमुख बौद्ध तीर्थस्थलसँग हवाई सञ्जालमार्फत जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास गर्न सकिने उनको भनाइ छ ।
भैरहवाबाट अन्तरराष्ट्रिय उडान नियमित र विस्तार हुन सके विदेशी पर्यटकलाई लुम्बिनीका साथै कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका स्थानसम्म पुग्न सहज हुनेछ । यसबाट पर्यटन क्षेत्रको विस्तारसँगै स्थानीय होटल, यातायात, कृषि तथा अन्य सेवामूलक क्षेत्रमा रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना हुने अनुमान गरिएको छ ।
लुम्बिनीलाई सिधै अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने उद्देश्यका साथ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरिए पनि नियमित उडानको अभावमा यसले अपेक्षित गति लिन सकेको थिएन । पछिल्लो समय नेपाल र भारतबीच भएको यो सहमतिलाई प्रभावकारी रूपले कार्यान्वयनमा लैजान सके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने देखिएको छ ।

