काठमाडौँ । इन्डोनेसियाको बालीमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सञ्चालक समिति तथा विभिन्न समितिको बैठकले जय शाहलाई पुनः अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको छ ।
यससँगै शाह विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।
पुनः चयन भएलगत्तै शाहले आफूमाथि निरन्तर विश्वास देखाएकोमा आईसीसी बोर्ड र सम्पूर्ण सदस्य राष्ट्रहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । आगामी कार्यकालमा क्रिकेट खेललाई विश्वव्यापी रूपमा थप विस्तार गर्ने, दर्शकको दायरा फराकिलो बनाउने र व्यावसायिक पक्षलाई अझ सुदृढ पार्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे । सन् २०२८ मा अमेरिकाको लस एन्जलस ओलम्पिकमा क्रिकेटको पुनरागमन हुन लागेको सन्दर्भ जोड्दै शाहले यसलाई खेलको विश्वव्यापी विकास र नयाँ पुस्तालाई आकर्षित गर्ने सुनौलो अवसरका रूपमा लिएको बताए ।
सन् २०२४ को डिसेम्बर १ देखि पहिलो पटक आईसीसीको नेतृत्व सम्हालेका शाहको यो पुनर्नियुक्तिसँगै उनी सन् २०२८ को नोभेम्बर महिनासम्म अध्यक्ष पदमा रहने निश्चित भएको छ ।

