हुम्ला । जिल्लाको यातायात सञ्जालमा महत्वपूर्ण सुधार ल्याउने लक्ष्यसहित हिल्सा–सिमिकोट सडक योजनाको उत्तर खण्डमा पर्ने ३९ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ । कर्णाली करिडोरअन्तर्गतको यस खण्डको निर्माणका लागि बुधबार औपचारिक ठेक्का सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअनुसार कुल ३९ किलोमिटर सडकलाई दुई भागमा विभाजन गरी काम गरिनेछ । जसमा खार्पुनाथदेखि खरिखेतसम्मको १८ दशमलव २ किलोमिटर र खरिखेतदेखि सलिसल्लासम्मको २० दशमलव ८ किलोमिटर खण्ड समेटिएको छ । करिब दुई अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको यो आयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ । यसअघि गत कात्तिक १७ गते ठेक्का स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक गरिएको थियो ।
हुम्लाका धेरैजसो मानव बस्तीहरू नदी करिडोरकै आसपासमा अवस्थित छन् । यो सडकको स्तरोन्नति र कालोपत्रे सम्पन्न भएपछि समग्र जिल्लाको आवागमन र सडक सञ्जालमा उल्लेखनीय परिवर्तन आउने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

