काठमाडौँ । चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ ।
ग्राण्डी अस्पतालमा उपचारत सिटौलाको आज १२: ४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको हो । ग्राण्डीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले शुक्रबार अपराहन्न १२: ४५ बजे मृत घोषणा गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी यात्राका क्रममा सुदूरपश्चिम भ्रमण रहेको वेला माघ १६ गते बिहान अछाममा बेहोस भएका थिए । बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो ।
अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर आज दिउँसो साढे २ देखि ३ बजेसम्म चलचित्र विकास बोर्डमा राखिने चलचित्र पत्रकार संघले जनाएको छ ।



