काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास तीव्र पारिएको छ ।
यसै सिलसिलामा सोमबार बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकमा सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको औपचारिक प्रस्ताव पेस गर्ने र सोही आधारमा नाम टुङ्ग्याउने विशेष तयारी रहेको बुझिएको छ । कार्यसम्पादन समितिको छलफल लगत्तै आजै दिउँसो १ बजे संसदीय दलको बैठक समेत आह्वान गरिएको छ ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पूर्वनिर्धारित निर्वाचन प्रक्रियालाई स्थगित गर्दै सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सहमति जुटाउनका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा एक वार्ता टोली समेत गठन गरिएको छ ।
उक्त टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, नेता गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् । आजको बैठकमा सोही टोलीले गरेको गृहकार्य र सहमतिको खाकामाथि छलफल हुने बताइएको छ ।



