काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार भारत प्रस्थान गर्दैछन् ।
नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने एनएक्सटी २०२६ सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
मार्च १२ देखि १४ सम्म चल्ने उक्त उच्चस्तरीय सम्मेलनमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा आमन्त्रित छन्। विश्वभरका नीति निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र प्राज्ञिक व्यक्तित्वहरूको जमघट हुने यस मञ्चमा विश्व शासन, प्रविधि, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा व्यापक छलफल हुनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहने उक्त सम्मेलनमा डा. भट्टराईले मार्च १४ तारिख बिहान १० बजे विशेष सम्बोधन गर्ने कार्यक्रम छ। उनले ‘एआईको युगमा लोकतन्त्र: डिजिटल शासन र युवा’ शीर्षकको सत्रमा आफ्ना धारणा राख्नेछन्। सो अवसरमा उनले कृत्रिम बुद्धिमत्ताको विकासले लोकतन्त्र र सुशासनमा पार्ने प्रभावका साथै युवाहरूको भूमिकाबारे बहस गर्ने उनको सचिवालयले जनाएको छ।
सम्मेलनमा आफ्नो सम्बोधन सकेर डा. भट्टराई सोही दिन अर्थात् मार्च १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।



