काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने यस बैठकले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदहरूको अन्तिम नामावली तय गर्ने बताइएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सदस्यहरूको नाम बुझाउन राजनीतिक दलहरूलाई भोलि आइतबारसम्मको समयसीमा दिएको छ । सोही बमोजिम एमालेले आफ्नो सूचीलाई अन्तिम रूप दिन लागेको हो । हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले समानुपातिकतर्फ भने १६ सिट प्राप्त गरेको छ ।
बैठकमा समानुपातिकतर्फका क्लस्टरहरू मिलाएर पठाउनुपर्ने भएकाले समावेशी सिद्धान्तका आधारमा नामहरूको छनोट गरिनेछ । यसअघि बुझाइएको बन्दसूचीका आधारमा पार्टीले योग्य उम्मेदवारहरूको नाम आयोगमा पठाउने तयारी गरेको छ ।



