काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश पहाडी र हिमाली भू-भागमा अहिले साधारणतया बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।
लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । गण्डकी , कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानहरूमा तथा कोशी , बागमती र लुम्बिनीका हिमाली भेगका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै , कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा असिनासहित वर्षा हुन सक्ने विभागले जनाएको छ । तराईका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।
राती पनि कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भू-भागमा बदली रहनेछ । गण्डकी , कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
पहाडी र हिमाली क्षेत्रमा हुने वर्षा , हिमपात र चट्याङ्गबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विभागले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।



