काठमाडौँ । देशभरका माध्यमिक तहका विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) देखि देशभर एकैसाथ सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभरका १ हजार ४२१ परीक्षा केन्द्रबाट कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थीहरू सहभागी भइरहेका छन् ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थीले परीक्षा दिँदैछन् । यसपटक नेपाल बाहिर जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सामेल हुनु विशेष आकर्षण बनेको छ । अघिल्लो वर्षको तुलनामा परीक्षार्थीको संख्या केही घटेको छ; गत वर्ष ५ लाख ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी थिए ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन बोर्डले प्रश्नपत्र अनलाइन माध्यमबाट पठाउने व्यवस्था गरेको छ । परीक्षा सुरु हुनुभन्दा केही समयअघि मात्रै केन्द्रहरूले अनलाइनबाट प्रश्नपत्र प्राप्त गरी प्रिन्ट गरेर विद्यार्थीलाई वितरण गर्ने प्रणाली अपनाइएको छ ।
यो परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले परीक्षा सकिएको ४५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेर तयारी अगाडि बढाएको जनाएको छ ।



