काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।
यसका कारण आज देशका विभिन्न भागमा मौसममा फेरबदल आउने देखिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अहिले सामान्य बदली छ भने मधेश र कोशीको तराई भेगमा आंशिक बादल लागेको छ । अन्य क्षेत्रमा भने मौसम सफा छ ।
आज दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा पनि एक-दुई स्थानमा वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ । यता मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आज तापक्रम बढेर ‘लु’ चल्न सक्ने वा तातो दिन हुने सम्भावना छ ।
रातिको समयमा हिमाली भेगमा सामान्य बादल लागे पनि तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका एक-दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।



