काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रशासन र प्राविधिकतर्फका विभिन्न पदमा ७५ जना नयाँ कर्मचारी माग गरेको छ ।
प्राधिकरणले तह ४ देखि तह ९ सम्मका रिक्त पदहरू परिपूर्ति गर्न यो दरखास्त आह्वान गरेको हो । विशेषगरी प्रशासनतर्फको प्रबन्धक पदमा महिला र प्राविधिकतर्फको सोही पदमा आदिवासी जनजाति समुदायबाट नियुक्ति गरिने गरी समावेशी कोटा निर्धारण गरिएको छ ।
प्राधिकरणले उपप्रबन्धक पदका लागि प्रशासनमा एक जना र प्राविधिकमा दुई जना कर्मचारी मागेको छ । यसका साथै वरिष्ठ अधिकृत , अधिकृत , वरिष्ठ सहायक र सहायक पदहरूमा पनि विभिन्न संख्यामा दरखास्त आह्वान गरिएको छ । आवेदनका लागि तह ९ र ८ का उम्मेदवारले १६ सय रुपैयाँ , तह ७ र ६ का लागि १२ सय रुपैयाँ तथा तह ५ र ४ का लागि ६०० रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यदि कुनै उम्मेदवारले थप समूहमा पनि आवेदन दिन चाहेमा सम्बन्धित तहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप शुल्क तिर्नुपर्नेछ ।
इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी चैत २६ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन् । सो अवधिभित्र आवेदन दिन नसक्नेहरूका लागि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिने सुविधा समेत प्राधिकरणले उपलब्ध गराएको छ ।




