काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सिंहदरवारस्थित संसद् सचिवालयको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष समारोहका बीच उनीहरूले संसदीय जिम्मेवारीको औपचारिक सुरुवात गरेका हुन् ।
संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुभएको थियो । उक्त समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपस्थिति र सहभागितालाई विशेष चासोका साथ हेरिएको थियो । लामिछाने विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उनले सांसदको रूपमा शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रम सुरु हुनुअघि संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले हलको व्यवस्थापनबारे जानकारी दिनुभएको थियो । उहाँका अनुसार संसद्का आगामी कामकारबाहीहरू हाललाई सोही बहुउद्देश्यीय हलबाटै सञ्चालन गरिनेछ । हलमा केही प्राविधिक वा भौतिक कमी-कमजोरीहरू हुन सक्ने भए तापनि तत्कालका लागि यसैबाट कार्यसम्पादन गरिने महासचिव पाण्डेयले स्पष्ट पार्नुभयो ।



