काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छिन् ।
आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनी सिधै सरकारी वकिलको कार्यालय पुगेकी हुन् । पाठकले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न र मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउन निवेदन समेत दिएकी छिन् ।
विगत लामो समयदेखि पाठकले नेता बस्नेतमाथि जबरजस्ती करणी, भ्रूण हत्या जस्ता गम्भीर आरोप लगाउँदै कानुनी लडाइँ लडिरहेकी छिन् । यसअघि नै उनले यी मुद्दाहरूमा जाहेरी दर्ता गराइसकेको भए तापनि प्रक्रिया सुस्त भएकोमा उनले असन्तुष्टि व्यक्त गरेकी छिन् ।
उच्च अदालतले समेत मुद्दालाई अगाडि बढाउन आदेश दिइसकेको अवस्थामा सरकारी वकिलको कार्यालयले ढिलासुस्ती गरेको उनको आरोप छ ।



