काठमाडौँ । विश्वभरका शैक्षिक संस्थाहरूमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मोबाइल फोनमाथि कडा निगरानी र प्रतिबन्ध लगाउने क्रमले तीव्रता पाएको छ ।
युनिसेफले सन् २०२६ मा सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोबाइल फोन प्रयोगमा पूर्ण वा आंशिक रोक लगाइएको तथ्य उजागर गरेको छ । यो तथ्याङ्क विगतका वर्षहरूको तुलनामा निकै उच्च हो, किनकि सन् २०२३ मा यस्तो नियम केवल २४ प्रतिशत देशमा मात्रै लागू थियो । विशेषगरी दक्षिण र मध्य एसियाली मुलुकहरूले यस कार्यमा अग्रसरता देखाउँदा अस्ट्रेलिया र न्युजिल्यान्ड जस्ता देशहरूमा भने यस्तो नीति अझै सुस्त देखिएको छ ।
विद्यार्थीहरूको एकाग्रता कायम राख्न , साइबर बुलिङ नियन्त्रण गर्न र उनीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउन विद्यालयहरूले यस्तो कदम चालेका हुन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले खासगरी किशोरीहरूमा आत्मविश्वासको कमी र आफ्नो शरीरप्रति नकारात्मक सोच विकास हुने गरेको अध्ययनले देखाएको छ ।
तथ्याङ्कअनुसार ३२ प्रतिशत किशोरीहरूले अनलाइन माध्यमका कारण आफ्नो शारीरिक बनावटलाई लिएर असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । विद्यालय समयमा मोबाइल हटाउँदा विद्यार्थीहरूमा आपसी कुराकानी , खेलकुद र अध्ययनप्रतिको रुचि बढेको पाइएको छ । उदाहरणका लागि , हंगेरीमा प्रतिबन्धपछि मोबाइल प्रयोगको दर ३७ प्रतिशतबाट घटेर ४ प्रतिशतमा झरेको छ ।
यद्यपि, सबै शिक्षकहरू यसबाट पूर्ण सन्तुष्ट छैनन् र धेरैले प्रविधि र अनुशासनबीचको सन्तुलनका लागि अझै परिष्कृत नीतिको आवश्यकता रहेको औँल्याएका छन् ।



