काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिका कारण सवारी साधन चलाउनै नसकिने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले पेट्रोलियम पदार्थको बढेको मूल्य तत्काल फिर्ता लिन वा सोही अनुपातमा सार्वजनिक यातायातको भाडा वृद्धि गर्न माग गरेको हो । अन्तर्राष्ट्रिय बजारको बहानामा नेपालमा निरन्तर भइरहेको मूल्य वृद्धिले यात्रुवाहक र मालवाहक दुवै क्षेत्र मारमा परेको व्यवसायीहरूको ठहर छ ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरे पनि त्यसअनुसार भाडा समायोजनमा चासो नदिएको उल्लेख छ ।
२०७९ सालमा तय गरिएको वैज्ञानिक भाडा समायोजन प्रणालीको भावनाअनुसार अघि बढ्न महासंघले सरकारसँग आग्रह गरेको छ । लागत मूल्य आकाशिँदै गएकाले हालकै भाडादरमा सेवालाई निरन्तरता दिन कठिन भएको भन्दै व्यवसायीहरूले नेपाल आयल निगमको विकल्प खोज्न वा मूल्य स्थिर राख्न जोडदार माग गरेका छन् ।




