काठमाडौँ । मुलुकको आर्थिक मार्गचित्र र योजना तर्जुमा गर्ने निकायहरूबीच समन्वय बढाउन प्रधानमन्त्री वालेन्द्र शाहले विशेष सक्रियता देखाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग महत्वपूर्ण छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका राष्ट्रिय प्राथमिकताका क्षेत्र निर्धारण गर्ने र ती निकायहरूलाई तोकिएको जिम्मेवारी कसरी प्रभावकारी बनाउने भन्नेबारे गहन संवाद भइरहेको छ ।
विशेष गरी आगामी कार्यक्रम र बजेटको तालमेल मिलाउने विषयमा केन्द्रित यस बैठकमा सरकारी नीति कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक जटिलताहरूमाथि पनि विमर्श गरिएको छ ।
सरकारले जनअपेक्षा अनुसार काम गर्न भोगिरहेका चुनौतीहरूलाई सम्बोधन गर्दै सुधारका लागि आवश्यक सुझावहरू संकलन गर्नु यस छलफलको मुख्य उद्देश्य रहेको बताइएको छ ।



