काठमाडौँ । नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ दुई देशका उच्च अधिकारीहरूबीच संवाद भएको छ ।
सिंहदरबारमा मंगलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुरबीच शिष्टाचार भेटवार्ता सम्पन्न भयो । उक्त अवसरमा द्विपक्षीय हितका विविध आयामहरूका साथै नेपालमा अमेरिकी व्यापार र लगानी विस्तार गर्ने सम्भावनामाथि गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने सहायक विदेशमन्त्री कपुर सोमबार मात्रै नेपाल आइपुगेका हुन् । आफ्नो भ्रमणका क्रममा उनले राजनीतिक भेटघाटलाई तीव्रता दिँदै सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संवाद गरेका थिए ।
यसका साथै उनले नेपालका निजी क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरूसँग पनि अन्तरक्रिया गरिसकेका छन् ।



