हेटौंडा । मकवानपुर र बारा जिल्लालाई जोड्ने महेन्द्र राजमार्गको सीमा क्षेत्रभित्र बनेका अवैध संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले अन्तिम समयसीमा तोकेको छ ।
सडक विभागको अनुमति नलिई सडक सीमा मिचेर बनाइएका घर, टहरा र अन्य भौतिक संरचनाहरू आगामी वैशाख १० गतेभित्र अनिवार्य रूपमा हटाउन डिभिजनले सार्वजनिक सूचना जारी गरेको हो । विशेषगरी पथलैया–चुरियामाई खण्डको ३ नम्बर पुल र चुरियामाई मन्दिर आसपासको क्षेत्रमा सडकको केन्द्र विन्दुबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र अझै पनि धेरै अनधिकृत संरचनाहरू कायमै रहेको पाइएको छ ।
यसअघि पनि पटक–पटक सूचना जारी गर्दा स्थानीयले अटेर गरेको भन्दै कार्यालयले यसपटक कडा कदम चाल्ने संकेत गरेको छ । २०५० साल र २०७३ सालमा समेत यस्ता संरचना हटाउन पत्राचार गरिएको भए पनि अहिलेसम्म ती क्षेत्र खाली भएका छैनन् ।
डिभिजन कार्यालयले तोकिएको मितिभित्र आफैं संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कानूनी कारबाही अघि बढाउने र संरचना हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने चेतावनी दिएको छ ।



