काठमाडौँ । मुलुकको मौसममा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा अहिले बदलीको अवस्था छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम सफा रहे पनि कोशी, गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमतीका थोरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी लगायत पहाडी भेगमा सामान्य बदली रहने अनुमान छ । विभागले कोशी, बागमती र गण्डकीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडमा वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आज पनि गर्मी बढ्ने र ‘तातो दिन’ हुने देखिन्छ ।
राती पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



