काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी मुलुकको राहदानी लिने थप १९ जना चिकित्सकको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ ।
काउन्सिलको दर्ता किताबबाट उनीहरूको नाम हटाउने निर्णय गरिएको रजिष्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए ।
नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ को प्रावधान बमोजिम यो कारबाही गरिएको हो । काउन्सिलले यसअघि पनि विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको लाइसेन्स खारेज गरिसकेको छ । हाल नाम हटाइएका चिकित्सकहरूले बेलायत, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, जर्मनी, अष्ट्रेलिया र भारतको नागरिकता लिएको पाइएको छ ।
दर्ता खारेज हुनेहरूमा डा. सुमिन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेशराज पहारी, डा. सञ्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ती महर्जन, डा. सृजना श्रेष्ठ, डा. सुनिता विष्ट, डा. दीपा मल्ल, डा. सौरब जिसी, डा. जेनिसा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दिपीका ज्ञवाली, डा. हेमु चौरसिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डे रहेका छन् ।



