काठमाडौँ । मुलुकभर एकसाथ तीनवटा मौसमी प्रणाली सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव रहेको छ ।
यो मौसमी प्रणालीका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ । तराईका भूभागमा भने आंशिक बादल लागेको छ । अहिले नै लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका थोरै स्थानहरूमा हल्का पानी परिरहेको छ ।
आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी र हिमाली भेगमा साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको अनुमान गरिएको छ । यसैगरी मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने आज दिउँसो हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ । देशका अन्य पहाडी क्षेत्र र लुम्बिनीको तराईमा आंशिक बादल लागे पनि बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ । रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

