काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका स्थापित रङ्कर्मी माओत्से गुरुङको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो झलक (फस्र्ट लुक) दर्शकमाझ ल्याइएको छ ।
असार १५ को विशेष दिन पारेर निर्माण पक्षले आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तोक्दै तीनवटा आकर्षक पोस्टर सार्वजनिक गरेको हो । यो चलचित्र मनोरञ्जन श्रेणीको भएकाले यसको भावलाई बुझाउन निर्माण टिमले अहिलेदेखि नै औपचारिक प्रचारप्रसारलाई तीव्रता दिएको छ ।
सार्वजनिक गरिएका पोस्टरहरूमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र गौमाया गुरुङलाई केन्द्रमा राखिएको छ । ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र जीवनको सङ्घर्षलाई कलात्मक रूपमा बुझाउने गरी पोस्टरहरू तयार पारिएका छन् । एउटा तस्बिरमा गाउँले परिवेशमा दयाहाङ र गौमाया देखिएका छन् भने अर्कोमा उनीहरू डोको र भारीसहित झरनाको बाटोमा यात्रा गरिरहेका भेटिन्छन् । त्यस्तै, तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा र गौमाया गुरुङ समुदायको परम्परागत पहिरनमा सजिएका छन् । यसले चलचित्र पूर्वलाहुरेको कथा, प्रेम, प्रतीक्षा र नेपाली समाजको यथार्थमा आधारित रहेको सङ्केत गर्छ ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रले मानिसको जीवनको लक्ष्य र त्यसका लागि गरिने सङ्घर्षलाई पर्दामा उतार्ने निर्देशक गुरुङले बताएका छन् । चलचित्रमा दयाहाङ र गौमायाका साथै बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, लुनिभा तुलाधर तथा दिवङ्गत कलाकार सुनिल थापालगायतको बलियो अभिनय हेर्न पाइनेछ ।
यस चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् भने केर डी. कोइच लिनुचले सम्पादन गरेका हुन् । मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ निर्माता रहेको यस चलचित्रको नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।
नेपालमा हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो माग देखिएको छ । निर्माण पक्षका अनुसार हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार (थिएट्रिकल राइट्स) बिक्री भइसकेको छ भने अन्य देशहरूमा पनि प्रदर्शनका लागि कुराकानी अगाडि बढिरहेको छ ।

