काठमाडौँ । राहदानी (पासपोर्ट) छपाइमा भएको भनिएको अनियमितताको विषयमा संसदीय समितिमा छानबिनको माग गरिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले यो विषय उठाउँदै तत्काल अनुसन्धान अघि बढाउन माग गरेका हुन् ।
बैठकमा रास्वपा सांसद जनकराज जोशीले राहदानी खरिद प्रक्रियामा करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक हिनामिना भएको दाबी गर्दै यसलाई राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएको गम्भीर मुद्दाका रूपमा प्रस्तुत गरे । उनले गृह मन्त्रालयबाट राहदानी विभागसँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन, महालेखा परीक्षकको कार्यालयमार्फत विशेष लेखापरीक्षण गराउन र स्वतन्त्र प्राविधिक समीक्षा समिति गठन गर्न माग राखे ।
अर्का सांसद खगेन्द्र सुनारले राहदानी अभावका कारण विदेश जाने नागरिकले सास्ती पाइरहेको उल्लेख गर्दै यस प्रकरणमा संलग्नहरूको पहिचान गर्न र फाइलहरू झिकाएर गहिरो छानबिन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, सांसद विक्रम थापाले पनि राहदानी छपाइमा भएको ढिलासुस्ती र आर्थिक चलखेलको छानबिन गरी सरकारलाई स्पष्ट निर्देशन दिनुपर्ने कुरामा सहमति जनाए । रास्वपा सांसदहरूले सार्वजनिक खर्चको पारदर्शिता र सुशासनका लागि समिति थप सक्रिय हुनुपर्ने माग गरेका छन् ।

