काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुनी वायुको स्पष्ट प्रभाव देखिएको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र आसपास सरेकाले देशभरकै मौसममा यसको असर परेको हो । अहिले देशभरि नै सामान्य बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका पनि एक–दुई स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशभरको आकाश बादलले ढाक्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरैजसो स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने देखिएको छ । यस्तै, देशका पहाडी तथा तराई भू–भागका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाडी क्षेत्रका थोरै स्थानहरूमा भारी वर्षाको चेतावनी दिइएको छ भने कर्णाली र सुदूरपश्चिममा पनि एक–दुई ठाउँमा ठुलो पानी पर्न सक्छ ।
रातिको समयमा पनि मौसममा सुधार हुने देखिँदैन । देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । पहाडी र तराई क्षेत्रका अधिकांश ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

