काठमाडौँ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकभरका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक सरेकाले मौसममा बदली भई वर्षाको प्रभाव बढेको हो ।
हाल देशैभर साधारणतया बादल लागेको छ भने कोशी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बागमती, गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात वा वर्षाको सम्भावना छ । यसैगरी पहाडी तथा तराईका धेरैजसो भू-भागमा चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । विशेष गरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

