काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर मनसुनी वायुको प्रभाव कायम छ । यसका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ ।
अहिले देशका अधिकांश भू-भागमा सामान्य बदलीको अवस्था छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानका साथै मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै, आज राति पनि देशभरको मौसम बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ । पहाडी क्षेत्रअन्तर्गत कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराईका अधिकांश भू-भागमा चट्याङ्गसहित वर्षा हुनसक्नेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

