काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी क्षेत्रमा सरदर स्थान वरपर नै अवस्थित छ ।
यसका कारण देशभरको मौसम सामान्यतया बदली बनेको छ । अहिले बागमती प्रदेशका केही स्थानका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा मध्यमस्तरको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान छ । देशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा अथवा हिमपातको सम्भावना छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णालीको पहाड अनि लुम्बिनी र सुदूरपश्चिमका पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभरको मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका हिमाली/पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित वर्षा वा हिमपातको योग छ ।
यस्तै मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान र सुदूरपश्चिमको तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

