काठमाडौँ । मुलुकभर अहिले मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपासमा अवस्थित छ ।
अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश भाग बादलले ढाकेको छ भने कर्णाली र सुदूरपश्चिममा आंशिक बदली छ । पूर्वी र मध्य क्षेत्रका केही स्थानका साथै पश्चिमी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरको आकाश सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रका अधिकांश ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । तराई भूभागका धेरैजसो स्थानका साथै हिमाली भेगमा वर्षा र हिमपातको आकलन गरिएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली नै रहने महाशाखाको भनाइ छ । रातिको समयमा देशका पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ ।

