जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सीधा रेल सम्पर्क स्थापित गर्ने ‘सरयू–कमला एक्सप्रेस’ आज बिहान जनकपुरधाम आइपुग्ने भएको छ ।
सोमबार दिउँसो १२:३० बजे अयोध्या धामबाट छुटेको उक्त रेल मंगलबार बिहान १० बजे जनकपुरधाम स्टेसनमा पुग्ने कार्यतालिका रहेको छ ।
यसअघि सोमबार भारतको नयाँदिल्लीबाट प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल माध्यममार्फत संयुक्तरूपमा यो रेल सेवाको उद्घाटन गरेका थिए । पहलीपटक जनकपुरधाम आउन लागेको रेलको स्वागतका लागि स्थानीय स्तरमा परम्परागत झाँकी, विभिन्न सांस्कृतिक प्रस्तुति तथा विशेष स्वागत समारोहको भव्य प्रबन्ध मिलाइएको छ ।
सातामा एक दिन सञ्चालन हुने यो रेलले भारतको उत्तर प्रदेश र बिहार राज्यका विभिन्न भूभाग हुँदै नेपालसम्म करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । यात्राका क्रममा रेल मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनहरूमा रोकिने व्यवस्था गरिएको छ ।
कुल १७ वटा डिब्बा जडित ‘सरयू–कमला एक्सप्रेस’मा यात्रुहरूको सुविधाका लागि स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियर श्रेणीका कोचहरू उपलब्ध छन् । भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई प्रत्यक्ष जोड्ने यस रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार तथा सीमापार आवागमनलाई अझ सरल बनाउने विश्वास लिइएको छ ।

